आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ: राष्ट्रपति पौडेल

काठमाडाैं | असोज ३, २०८०

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ: राष्ट्रपति पौडेल तस्बिर फाइल

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।


संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ ।


राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।


“वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।


उहाँले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गर्नुभएको छ । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
 

राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गर्नुभएको छ ।


शुभकामना सन्देशमा भनिएको छ, “राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।”


राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्दै दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्